News Griha :: न्यूजगृह
उच्चस्तरीय छानबिन आयोग गठन नभए संसद अवरुद्ध कायमै हुन्छ : महासचिव पोखरेल
फाइल तस्बिर

वीरगन्ज— नेकपा एमाले महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदन खुल्ने बताएका छन् ।

पर्साले शुक्रबार पत्रकारसँग महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिन गर्न आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको उनको भनाइ थियो ।

‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ,’ उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ ।’

राज्यका सुरक्षा निकायप्रति आफूहरूको कुनै आशंका नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा अविश्वास उब्जिएकाले आयोग गठन गर्न माग गरिएको बताए ।

दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनु पर्ने उनको माग थियो ।

संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नु परेको बताउँदै उनले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए । 

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता औँल्याउँदै उनले बलियो राजनीतिक शक्ति निर्माणका लागि नेकपा एमाले ‘मिसन २०८४’ अभियान सञ्चालन गरेको बताए ।

पत्रकार सम्मेलनमा एमाले सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, एमाले नेत्री तथा पूर्वमन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:३१
Weather Update