
काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसले सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभामा बोल्दा प्रयोग गरेको शब्द हटाउनु नपर्ने बताएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन बोलाएको पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलपछि बोल्दै कांग्रेस सचेतक सुशिला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेको बताएकी हुन् ।
उनले डा. शर्माले बोलेका शब्दहरू असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताएकी हुन् । उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको बताएकी थिइन् ।
‘सदन अवरुद्ध भइरहेको छ, डा. सुनिल शर्माले बोलेको विषय रेकर्डबाट हटाउनु पर्ने हो कि होइन ? त्यो लिगल हो कि होइन भन्ने कुरामा छलफल गरेको छौँ,’ उनले भनिन्, ‘प्रमुख प्रतिपक्षको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नु भयो, सुनिल जीको रेकर्ड हटाउनु पर्छ जस्तो लाग्दैन भन्नुभयो ।’
सचेतक थिङले सांसद शर्माले सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ ? भन्ने प्रश्न गरेको बताउँदै ती शब्द संसदीय रहेको बताइन् ।
बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरू मिल्नु पर्ने र समिति सभापति चाँडो चयन गर्नु पर्ने बताएका थिए ।













