
बाग्लुङ— चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । वि.सं. २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय होमस्टे’ सञ्चालनमा ल्याए ।
होमस्टे सञ्चालनमा ल्याएपछि उनीहरूको दैनिकी बदलिँदै गएको थियो । एक वर्षमै विश्वभर महामारीका रूपमा कोभिड–१९ फैलियो । यसको प्रत्यक्ष असर यहाँका होमस्टे सञ्चालकलाई पनि परेको थियो ।
झण्डै दुई वर्ष कोभिडका कारण बन्द भएको होमस्टे पुनः सञ्चालनमा आयो । गत असोज महिनासम्म तोरीखोला होमस्टेमा पाहुनाको चाप निकै बढेको थियो । टाढा–टाढाबाट गलकोट घुम्न आउने आन्तरिक पर्यटकको बासस्थान तोरीखोला होमस्टेनै हुन्थ्यो ।
पाहुनाको आकर्षक थलो बनेपछि होमस्टे सञ्चालकको आयआर्जन र जीवनशैली फेरिँदै गएको थियो । जब बजारमा महंगी बढ्यो र तरलता अभाव हुन थाल्यो त्यसपछि होमस्टेमा आउने पाहुना क्रमशः घट्दै गए ।
आर्थिकमन्दीले गर्दा पाहुनाको आगमन घटेपछि होमस्टे सञ्चालक पनि समस्यामा पर्दै गएका छन् । कुनै दिन दैनिक ५० जनाभन्दा बढी पाहुन आउने तोरीखोला होमस्टेमा अहिले महिनामा पचास पुग्न गाह्रो छ ।
यातायात र इन्टरनेटको सहज पहुँच रहे पनि पाहुनालाई भित्राउन गाह्रो भइरहेको छ । पहिलेको जस्तो पर्यटकीय ठाउँमा घुम्नेको संख्या घटेपछि होमस्टेमा बास बस्न आउनेह पनि घटेको सञ्चालकको भनाइ छ । पाहुनाका लागि पालेका स्थानीय जातका कुखुरा होमस्टे सञ्चालकले बाहिरै बजारमा लगेर बेच्न बाध्य भएका छन् ।
होमस्टे सञ्चालक सीता पुन भन्छिन्, ‘सबै व्यवस्थापन राम्रो गर्दै गएका थियौँ, दैनिक पाहुनको चाप पनि बढेको थियो, चार/पाँच महिना भयो, यहाँ आउने पाहुना निकै कम हुनुहुन्छ, हाम्रो कमी कमजोरीको कारणले त होइन होला, सबैले राम्रो छ भन्नुहुन्थ्यो, अहिले पाहुना ह्वात्तै घटेपछि हामीहरूलाई पनि अचम्म लागेको छ ।’
चार वर्षदेखि सञ्चालनमा आएको तोरीखोला होमस्टे गलकोटको हटिया र नरेठाटी बजारदेखि नजिकै पर्छ । हटिया बजारबाट एक घण्टा र नरेठाटी बजारबाट आधा घण्टामा यहाँ पुग्न सकिन्छ । स्थानीयले पाँच घरमा होमस्टे सञ्चालन गरिरहेको पुनको भनाइ छ । शान्त वातावरण, गाउँले हावापानी र लोकल खानाको स्वाद लिनका लागि पर्यटक यहाँ आउने गरेको सञ्चालक पुनले बताइन् ।
गलकोट क्षेत्रमा तोरीखोला होमस्टेसँगै वडा नम्बर १० को पाण्डपखानीमा सिद्धथान सामुदायिक होमस्टे, वडा नम्बर ६ मा ‘स्टोन भिलेज’ सामुदायिक होमस्टे र वडा नम्बर ११ मा रिघा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि पाहुना नआएको सञ्चालक बताउँछन् । यी होमस्टे सुरूआती चरणमा रहेको हुँदा प्रचारप्रसारलाई जोड दिएको सिद्धथान सामुदायिक होमस्टका अध्यक्ष खिमबहादुर पुनमगर बताए ।
वि.सं. २०७५ मा गण्डकी प्रदेश सरकारको १० लाख सहयोगमा स्थापना गरेको यो होमस्टे कोभिड संक्रमण फैलिनुपूर्व निकै चलेको भन्दै अहिले सुस्ताउँदै गएको अध्यक्ष पुनमगरको भनाइ छ । प्रदेश सरकारले दिएको अनुदानले होमस्टेमा इन्टरनेट जडान, बिस्तरा तथा शौचालय व्यवस्थापन गरेको सुनाउँदै पछिल्लो समय पाहुनाको कमी हुँदै गएको बताए ।
उनी भन्छन्, ‘होमस्टे सञ्चालनमा आएपछि यहाँका दिदीबहिनीहरूले रोजगार पाउनुभएको थियो । यहाँका कला, संस्कृति र मौलिक परम्पराको प्रचार भएको थियो । अर्ग्यानिक उत्पादनले मूल्य पाएका थिए । खोलेको एक वर्षमै कोरोना आयो । अहिले बजारमा पैसाको अभाव छ भन्छन् । बैंकमा पैसा पनि पाइँदैन रे त्यही भएर होला पर्यटक घुम्न पनि आउन छोडे ।’
पाहुनाले लोकल कुखुरा, कोदोको ढिँडो, रक्सी, भाँगोको अचार मन पराउने गरेको हुँदा आफूहरूले उत्पादन बढाएको भन्दै पाहुन कम हुँदा उत्पादन खेर जाने अवस्था आएको पुनमगरले दुखेसो पोखे ।
होमस्टेलाई थप पाहुनामैत्री बनाउन स्थानीय जुटेको उनको भनाइ छ । स्थानीय पालिकाले होमस्टेसम्म पुग्ने सडक र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीयस्थललाई व्यवस्थित गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।
उनले पाहुना भित्र्याउनका लागि होमस्टे सञ्चालकको व्यवहार, यहाँ पाइने परिकार र सरसफाइ मुख्य विषय रहेको भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गरिरहेको बताए ।
होमस्टे सञ्चालनसम्बन्धी तालिम, खाना पकाउने तरिकालगायतका विषयमा थप तालिम प्रदान गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले त्यसको व्यवस्था गर्ने भण्डारीको भनाइ छ ।
‘अहिले यहाँ जति पनि होमस्टे छन्, ती ठाउँ पर्यटकीयस्थल वरपर छन्, खास गरी यी ठाउँमा पर्यटक आउँछन् र उनीहरूलाई खाना बस्नको समस्या नहोस् भन्ने हिसाबले होम–स्टे सञ्चालन भएका हुन्’, उनले भने, ‘स्थानीय सरकारले पर्यटन प्रवर्द्धन गर्ने र ती स्थानसम्म पुग्ने सडकलाई व्यवस्थित गर्ने जिम्मा हाम्रो हो, होमस्टे सञ्चालकले आवश्यक सहयोग माग्ने र सेवालाई गुणस्तरीय बनाउन सके राम्रोसँग चल्छन् भन्ने हामीहरूलाई लागेको छ ।’
उनले पर्यटन मार्फत् गलकोट समृद्ध बनाउने लक्ष्य रहेको भन्दै पर्यटन प्रवर्द्धनमा नगरपालिकाले काम गरिरहेको बताए । गाईघाट झरना, टेउवाको मूर्तिकला, गलकोट दरबार, घुम्टे लेकलगायत धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि विगतका वर्षदेखि पूर्वाधार निर्माण गर्दै आएको प्रवक्ता भण्डारीको भनाइ छ ।













