
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान विपरित प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ ।
संविधान विपरीत प्रक्रिया अपनाउँदै प्रदेश सभाबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको हो । एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताए ।
एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन प्रदेशसभाकी उपसभामुख सृजना दनुवार बिरामी परेको भन्दै काठमाडौं गएकी थिइन् । अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका ज्येष्ठ सदस्य पनि बैठकमा अनुपस्थित भएका थिए । त्यसपछि सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेश सभा बैठकको अध्यक्षता अध्यक्ष मण्डलमा रहेका नेपाली कांग्रेसका सांसद इस्राइन मन्सुरीले गरेका थिए ।
विश्वासको मत लिने क्रममा मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला मन्सुरीले बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएका थिए । तिम्सिनाले अध्यक्षता गरेपछि मन्सुरीले थापाको समर्थनमा विश्वासको मत दिएका थिए । त्यसपछि फेरि उनले अध्यक्षता ग्रहण गरेर मतदानको नतिजा सुनाएका थिए ।
विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरेका थिए । त्यसमा बैठकको अध्यक्षता गरेका मन्सुरीको पनि मत समेटिएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।













