
सुर्खेत— कर्णालीका स्थानीय सरकारले बजेट कार्यान्वयनलाई तीव्रता दिएका छन् ।
चालु आर्थिक वर्षको आठ महिना पूरा भइसकेकाले स्थानीय तह विकास निर्माणका योजना कार्यान्वयन गर्न केन्द्रित भएका हुन् । हालसम्म करिब ६५ प्रतिशत बजेट कार्यान्वयन भइसकेको सम्बद्ध जनप्रतिनिधिहरूको भनाइ छ ।
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख गणेशकुमार शाहीले असारे विकास योजनाहरू कार्यान्वयन नहुने भएकाले असार अगावै योजना कार्यान्वयन गरिसक्ने गरी काम भइरहेको बताए ।
'अहिलेसम्म हामी विकासको काममा असार केन्द्रित भयौँ । बजेट सक्नकै लागि गरिने त्यस्तो कार्य अब बन्द हुनुपर्छ', उनले भने, 'यसैलाई मध्यनजर गरेर असार अगावै सबै योजना कार्यान्वयन गरिसक्ने गरी काम गरिरहेका छौँ ।'
नगरपालिकाबाट विनियोजित दुई सय ८५ योजनामध्ये अहिले धेरैजसो कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी नगरप्रमुख शाहीले दिए । उक्त नगरपालिकाले चालु आवमा ११ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा वैशाख मसान्तसम्म पालिका स्तरबाट तोकिएका योजनाका योजनाका लागि विनियोजित रकम भुक्तानी दिइसक्ने कार्यपालिकाले निर्णय गरेको हो ।
कालिकोटको पचालझरना गाउँपालिकाले पनि हालसम्म आर्थिक वर्ष २०७९/०८० को ७५ प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष देवराज शाहीले चालु आवका लागि नौ करोड रुपैयाँ विकासे बजेट रहेको र घोषित कार्यक्रम कार्यान्वयन गरी भनाइ र गराइबिचको खाडल पुर्ने काम भएको बताए । 'भाषण मात्रै होइन व्यावहारिक रुपमा काम हुनुपर्छ । त्यही नीतिलाई अनुसरण गरेर हामीले विकास निर्माणका काम गरिरहेका छौँ', उनले भने ।
सल्यानको बागचौर नगरपालिकाले पनि ५० प्रतिशत बजेट कार्यान्वयन भइसकेको जनाएको छ । 'अन्य योजना पनि कार्यान्वयनको चरणमा रहेको छ', नगरप्रमुख जनकराज गौतमले भने, 'विगतका वर्षमा बजेट कार्यान्वयन समयमै नहुने, असार केन्द्रित विकास हुँदा विकासका कामसमेत गुणस्तरीय नहुने अवस्था थियो ।
त्यसलाई अन्त्य गर्नुपर्छ भनेर हामीले अहिलेदेखि योजना कार्यान्वयन छिट्टै गर्ने गरी काम गरेका छौँ । असार महिना त बजेट कार्यान्वयनको महिना होइन, योजना तयार गर्न छलफल गर्ने महिना हो नि ।'













