News Griha :: न्यूजगृह
रसुवागढी नाकाबाट आउन थाले चिनियाँ पर्यटक, दुई दिनमा २६ पर्यटक नेपाल भित्रिए
फाइल फोटो

काठमाडौं— नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । 

अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरू काठमाडौँका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि आइतबार पाँच जना चिनियाँ पर्यटक मितेरीबाट केरुङतर्फ गएका छन् । 

यसैगरी केरुङ घुम्नका लागि शनिबार र आइतबारमा एक सय छ जना नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेको सिमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ । सिमाक्षेत्रमा बसोबास गर्ने नेपालीका लागि चीनको केरुङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ । 

करिब पाँच सय छ जनाले नवीकरण गराइसकेका र नवीकरणका लागि दैनिक ठुलो सङ्ख्यामा रसुवावासी अध्यागमन कार्यालय पुग्ने गरेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक खेमराज खड्काले बताए । केरुङमा हाललाई मालवाहक सवारी चलाउने चालक र नवीकरणसहितको स्थायी परिचयपत्र भएका रसुवावासीले मात्र जान पाउने बताइएको छ । 

केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । साथै सिमाक्षेत्रका चिनियाँ अधिकारीले गरेको आग्रहलाई स्विकार्दै सीमा क्षेत्रमा रहेको हेल्थडेक्स मार्फत तीन सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको छ । परीक्षणबाट पोजेटिभ भेटिएका तीन जनालाई होम आइसोलेसन पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:४४
Weather Update