
काठमाडौं— फेसबुकमा अश्लिल फोटो तथा भिडिओ राखेर चरित्र हत्या गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरूलाई साथी बनाएर नजिक भई प्रेमजालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए ।
चौगुठीले खिचिएका अश्लिल फोटो तथा भिडिओको दुरुपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त फोटो तथा भिडियो सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही फोटो तथा भिडिओ पीडितका आफन्तलाई समेत पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न रही विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चौगुठीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।













