News Griha :: न्यूजगृह
विद्यार्थी नै बेच्छन् तरकारी

तुलसीपुर— केही विद्यार्थीले तरकारी तौलिइरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् ।

उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन्  । 

कृषि शिक्षा बढी प्रयोगात्मक केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको विद्यार्थी रेशम विश्वकर्माले बताए । 'हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ,' उनले भने, 'खोज अनुसन्धान गर्न सहज पनि भएको छ ।'

विद्यालयले बिउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकताअनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीहरूले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नुका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन् । 

प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट बेहोर्दै आइएको विद्यार्थी  शोभा बुढाथोकीले बताइन् । तुलसीपुर–३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघा जति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ । 

विद्यार्थीहरूले यसअघि ५२ किलो बोडी तथा सिमी बिक्री गरेका थिए । त्यस्तै हाल हलेदो, सयपत्री, आँप, कटहर, अमिला जातका फलफूल, सितल चिनी, खयर, अमला, हर्रोबर्रो, भटमासलगायत खेती गरेका छन् ।  विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरु व्यवसायमा जोडिएको विद्यालयका कृषि सङ्काय प्रमुख समीक्षा गुप्ताले बताए । सैद्धान्तिक कक्षा बाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरूले समूह बनाएर यसरी खेती गर्दै आएका छन् ।  

मेहेनतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरूलाई थप हौसला मिलेकोे छ । विद्यार्थीहरूलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो । योसँगै विद्यार्थीहरूले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:११
Weather Update