
काठमाडौं— नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राजावादी भएको खुलेको छ ।
आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ । रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका-७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले सांघातिक आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ ।
प्रत्यक्षदर्शीका अनुसार सापकोटाले यादवमाथि आक्रमण गरेपछि राजतन्त्रको पक्षमा र भ्रष्टाचार तथा कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए ।
प्रहरीसँग पनि उनले आफूलाई राजावादी बताएका छन् । रिपोटर्स क्लबले यादवसहितका नेताहरूसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा यादवमाथि आक्रमण भएको हो ।
आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्र बसेर भाषण सुनेका थिए । उनले आफूलाई अभियन्ताको रुपमा चिनाउने र कार्यक्रमहरूमा सहभागी हुने गरेको पाइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।













