News Griha :: न्यूजगृह
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित २ महिलाको मृत्यु

रुकुम पश्चिम— रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित २ महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता वली विष्ट र सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गंगी पुनको मृत्यु भएको हो ।

सुत्केरी २२ वर्षीया विष्टलाई मंगलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन् तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो ।

सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण बुधबार बिहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ ।

शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मंगलबार नै भएको थियो । गंगी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको थियो ।

अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको ४ दिनपछि पुनको मंगलबार घरमै मृत्यु भएको वडा अध्यक्ष टेकबहादुर पुनले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १९:०५
Weather Update