
सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइराला बुधबार मृत फेला परेका छन् ।
झापाको दमक नगरपालिका–१ का डा.प्रज्वल कोइराला उदयपुरको बेलका नगरपालिका–८ स्थित एक होटेल अगाडि गाडी राखेर सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए ।
प्रहरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको डाक्टर कोइरालाको मृत शरीर सप्तकोशी नदीको भङ्गालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेश चतराका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।
माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा.कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको उनले बताए । डाक्टर कोइरालाको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
डा.कोइराला भदौ १० गते आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएको र सोही दिनको राति २ बजे कोशी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए ।
प्रेम सम्बन्धमा असफल भएका कारणले कोशीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













