
कञ्चनपुर— कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् ।
साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्याउने गरेको स्थानीय वडा अध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए ।
‘हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो,’ अध्यक्ष धनाडीले भने,‘एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।’
रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०/३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले बताए ।
‘हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्’,उनले भने, ‘यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।’
उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताए । स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताइन् ।
‘धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ’,उनले भनिन्,‘हात्तीकै कारण यहाँ खेतसमेत बाझो हुन थालेको छ ।’ गाउँमा हात्तीको आतंकले स्थानीय त्रसित भएको उनले बताइन् ।













