
सुर्खेत— कर्णाली प्रदेश सभा सदस्यहरू (सांसद) ले आर्थिक मामिला तथा योजना मन्त्रालयले मनोमानी ढंगले बजेट बाँडेको आरोप लगाएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट बाँडेको भन्दै उनीहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
प्रदेश सभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा विनियोजन गरेको आरोप लगाए ।
‘हामी संघीयता कार्यान्वयनतर्फ उन्मुख छौँ तर संघीयता कार्यान्वयनको औचित्यमाथि प्रश्न उठ्ने गरी जनप्रतिनिधिबाटै काम हुन थालेको त छैन ? अर्थ विविध भन्ने शीर्षक विषम परिस्थिति, भोकमारी, संकटकालीन अवस्था आपत्विपत्मा खर्च गर्ने होला नि ? किन सदनलाई जानकारी नदिएर बजेट आफूखुसी बजेट रकमान्तर गरियो ?’ उनले प्रश्न गरे ।
कर्णालीका दश जिल्लामध्ये मन्त्री शाहले दैलेखमा २३, सुर्खेतमा १८, जुम्ला र जाजरकोटमा चार/चार, कालीकोटमा दुई, हुम्ला, डोल्पा र रुकुम पश्चिममा एक/एक गरी ५४ योजनाका लागि बजेट विनियोजन गरिएको उनको आरोप छ ।
बैठकमा अर्का सदस्य खड्गबहादुर पोखरेलले एकैरातमा रु २३ करोड बजेट बाँडिएको आरोप लगाए ।













