
काठमाडौं— जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन प्रकरणमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका-१ का ५५ वर्षीय नुर्बु शेर्पा र ३० वर्षीया सुनमला तामाङलाई ३० हजार नगद सहित पक्राउ गरेको हो ।
चरिकोटबाट पक्राउ परेका दुवै सुन किन्न आएको प्रहरीको अनुमान छ। विगु गाउँपालिका-३ जामुनेबाट ४ किलो सुनसहित बुधबार राति पक्राउ परेका तीन सहित चरिकोटबाट नियन्त्रणमा लिएका दुईजनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बुधबार राति प्रहरीले केशर तामाङ सहित पेम्बा तामाङ र माधव मगरलाई पक्राउ गरेको थियो । नेपाली नागरिकलाई प्रयोग गरी चिनियाँले सुन नेपाल पठाएको प्रहरीको भनाइ छ । सुन तस्कर धमाधम पक्राउ पर्न थालेपछि उनीहरूले दोलखाको रुट प्रयोग गरेको जिल्ला प्रहरी प्रमुख दीपक खड्काले बताए । खड्काले भने‚ ‘फलाक नाकाबाट दोलखामा सुन प्रवेश भएको हो।’
चीनको सिमानामा प्रहरी चौकी रहे पनि उनीहरूले सुन हिँडेर ल्याएका कारण सूचनामा ढिलाइ भएको हो। अहिले सीमा नाकामा कडाइ गरिएको खड्काको भनाइ छ। उनीहरूलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा दोलखा अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।













