News Griha :: न्यूजगृह
पत्रकारसँग अर्थमन्त्री महतले भने– अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए ।

‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने,‘खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’

अर्थमन्त्री डा.महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे । ‘अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ,’ उनले भने ।

उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा  मोबाइल फोन भित्रिँदा रु ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे । पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो ।

अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए । सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्र र सुधारबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  २२:१०
Weather Update