News Griha :: न्यूजगृह
ठमेलमा पर्यटक छन्, व्यापार छैन

काठमाडौं— ठमेल काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य हो । पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको संख्या बढेपनि व्यापार भने उल्लेख्य छैन । 

कोरोना महामारीपछि कै सबैभन्दा धेरै पर्यटक मार्च महिनामा भित्रिए । तर ठमेलमा उत्साहजनक व्यापार भएन । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल पुग्छन् । ठमेलमा २२ वर्षदेखि ट्रेकिङमा प्रयोग हुने सामग्री बिक्री गर्दै आएका पून्यरामलागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । ‘कोरोना महामारी अघिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ’, उनले भने । 

कोरोना महामारी अघि लागेजुले दैनिक  ५० देखि ६० हजारको व्यापार गर्थे । अहिले दैनिक ८ देखि १० हजारसम्मको व्यापार हुने गरेको उनले बताए । २२ वषर्को व्यापारको अनुभव सुनाउँदै लागेजुलेभने,‘अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।’  
ठमेल मै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार/व्यवसाय घटेको बताउँछन् । ‘ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको छ । कहिलेकाँही त बिक्री नै हुँदैन’,  रेग्मीले भने । खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको बुझाई छ । कारण व्यापार व्यवसाय नै धरापमा परेको उनले सुनाए ।

thamel 1680848581.jpg

ठमेलमा १४ वर्षदेखि ह्याण्डिक्राप्टकोव्यापार/व्यवसाय गर्दै आएकी मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछिन् । ‘पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्’, बाँस्तोलाले भनिन् । उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री गर्दै आएकी उनले घरबेटीलाई भाडा तिर्नसमेत समस्या परेको बताइन् । 

ठमेलका होटलमा भने पर्यटकको संख्या बढेको छ । होटल सञ्चालक विमल (सहदेव) धमलाले पछिल्लो समय ठमेलमा पर्यटकको संख्या बढेको बताए । ‘मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो’, उनले भने । धमला ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत हुन् । पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको उनी बताउँछन् ।

अर्का होटेल सञ्चालक महेश फुयाल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । पर्यटकीय समय भएको कारण पनि अहिले होटलमा पर्यटकको संख्या बढेको उनले बताए । नेपालमा पर्यटक आवागमनको संख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् ।

अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिइन्छ । पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार ४ सय २६ पर्यटक भित्रिएका छन् । मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार ४ सय ५४, अन्य एशियाली मुलुकबाट १५ हजार ६ सय ४३, युरोपबाट २३ हजार २६५ तथा अन्य राष्ट्रबाट ३ हजार ९५८ पर्यटक नेपाल आएका छन् । यस्तै, क्यानडाबाट १ हजार ७०७, अमेरिकाबाट ९ हजार ५५७ का साथै मध्यपूर्वलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् ।

पर्यटन बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछानेका अनुसार मार्च महिनामा मात्र भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ पर्यटक आएका थिए । अमेरिकाबाट गत वर्षको सोही अवधिमा ४ हजार ८९६ पर्यटक आएकामा यसपटक ९ हजार ५५७ पर्यटक आएका छन् । मार्चमा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:२४
Weather Update