नेपालगञ्जको कर्फ्यु खुकुलो, निषेधाज्ञा जारी

काठमाडौं— तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।
आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोस्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।
बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० ०९:१४