
काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालको नाममा रहेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’अन्तर्गत सञ्चालित सर्पपालन कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
आर्थिक मामिला यादवका अलावा तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका तत्कालीन अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको दाहालले जानकारी दिए ।
त्यसैगरी सर्लाही लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्काविरुद्ध पनि मुद्दा दायर गरिएको उनको भनाइ छ ।