News Griha :: न्यूजगृह
निजी क्षेत्रलाई अर्थ मन्त्रीले भने– बजेट निर्माणमा जुटेको छु, बुँदागत सुझाव दिनुस्

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रलाई थप गतिशील बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा रहेको बताएका छन् ।

नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै अर्थ मन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए ।

आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै अर्थमन्त्री महतले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे ।

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थ मन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू क्रियाशील रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफू जुटेकाले बुँदागत रूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन निजी क्षेत्रसँग अर्थ मन्त्रीले आग्रह गरे । त्यस अवसरमा उनले अघिल्लो आर्थिक वर्षमा सर्वाधिक निर्यात गरेका संघमा आबद्ध व्यावसायिक प्रष्ठिानलाई कदरपत्र पनि प्रदान गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, संघका अध्यक्ष एवम् सभाका सभापति अनुपबहादुर मल्लले बोलेका थिए ।

त्यसअघि भएको संघको बैठकले सन्तोष कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो । नवगठित कार्यसमितिमा उत्तम भट्टराई, नरेशलाल श्रेष्ठ, विप्लवमान सिंह, राजुबाबु श्रेष्ठलगायत छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २१:१७
Weather Update