
काठमाडौं— काठमाडौंको तीनकुनेस्थित गैरीगाउँ दिव्य सःमिलमा चार जनाको हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान भएका छन् ।
सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–९ का २३ वर्षीय भण्डारीले गत भदौ २९ गते राति चार जनाको हत्या गरेका थिए ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा हत्यामा संलग्न एक जनालाई प्रतिवादी बनाएर बिहीबार मुद्दा दायर गरेको थियो ।
काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका–८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।
उनीहरूको हत्या अभियोगमा भण्डारी पक्राउ परेका थिए ।