News Griha :: न्यूजगृह
सामाखुसी यातायात प्रालीद्वारा थप बस सञ्चालन

काठमाडौं— सामाखुसी यातायात प्रालीले पाँच करोड रुपैयाँको लागतमा थप १० बस सञ्चालनमा ल्याएको छ । वि.सं. २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको उक्त प्रालीले शनिवारदेखि बस थप गरेको हो । 

उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उनले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालन गरेको बताए । 'काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास छ', उनले भने । 

प्रालीका अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको जानकारी दिए । उनले यात्रुमैत्री बन्न चालक र सहचालकलाई आग्रह गरे । 

सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले अहिले ८० माइक्रोबस तथा ३१ ठुला बसमार्फत यात्रुलाई सेवा प्रदान गर्दै आएको छ । सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदै आएको प्रालीका आर्थिक व्यवस्थापक दिपेन्द्र केसीले जानकारी दिए । सो प्रालीले हाल ३०० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १५:५३
Weather Update