
काठमाडौं— त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आजदेखि सुरु हुँदै छ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।
शृङ्खलाको पहिलो खेलमा नेपाली टोली बुधबार दिउँसो १ बजे यूएईसँग खेल्नेछ । खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । शृङ्खलाको लिगका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृङ्खलाको फाइनल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
नेपालले आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृंखला आयोजना गरेको हो ।
यसैबीच, यो शृङ्खलामा सन्दीप लामिछाने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृङ्खलाबाट नाम फिर्ता लिएको बताएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।













