News Griha :: न्यूजगृह
हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत् वक्यौता

बागमती— नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ रुपैयाँ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ ।

केही उद्योगविरुद्ध महसुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने पाँच सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालो सूचीमा परेका केही ग्राहकबाट कारबाही स्वरूप ७९ हजार दुई सय ४१ रुपैयाँ संकलन भएको बताइएको छ । चालु आवकोे  हालसम्म पाँच हजार रुपैयाँभन्दा बढी विद्युत् महसुल नतिर्ने  नौ सय ७३ ग्राहकको लाइन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए । 

कारबाहीमा परेपछि छ सय १७ जनाले जरिबाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार रुपैयाँ महसुल संकलन भएको  जनाइएको छ । हेटौँडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको विद्युत् विक्री गर्दै आएको र १८ करोड छ लाख १२ हजार रुपैयाँ महसुलबापत राजस्व संकलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले ५३ लाख पचास हजार रुपैयाँ राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटाैँडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले बताए । 

सो कार्यका लागि १८ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा  काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा  कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:२६
Weather Update