News Griha :: न्यूजगृह
‘अर्थतन्त्र संकटग्रस्त हुनुमा २० वर्षदेखिको सत्ता साझेदारहरूको भूमिका छ’

दाङ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्नुमा वर्तमान सरकार मात्र दोषी नभएको बताएका छन् ।

नेपाली कांग्रेस दाङले घोराहीमा आइतबार आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकार मात्र दोषी नभएको बताएका हुन् ।

‘देशमा आर्थिक संकट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरूको भूमिका छ,’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र दुःख, संघर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्ने कामको असल अभ्यास दाङ कांग्रेसले गरेको भन्दै प्रशंसा गरे ।

‘पार्टीभित्र संघर्ष गरेर, लडेर खारिएका नेताहरू कांग्रेसलाई बदल्छौँ र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने संकल्प लिएका छौँ’,महामन्त्री थापाले भने,‘अहिलेको संकटसँग भागेर देश बन्दैन, संकटको सामना डटेर गर्ने ताकत सबैले लिनुपर्छ, जोखिमको बेलामा आएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निभाउनुपर्छ, यो दायित्व अहिलेको सरकारको काँधमा आएको छ ।’

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:०४
Weather Update