
काठमाडौं— भोलि मंसिर ७ गते दुईवटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो सङ्ख्यामा मानिसहरू भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । युवा संघका नेता महेश बस्नेत र प्रसाईंबीच केही समयअघि परस्पर शक्ति प्रदर्शनको शैलीमा वादविवाद पनि भएको थियो ।
त्यसपछि दुई समूहका अगुवाले भोलि ७ गते काठमाडौंमा ठूलो सङ्ख्यामा मानिसहरू उतारेर आफ्नो शक्ति प्रदर्शन गरेर एकअर्कालाई देखाउने धम्की दिएका छन् ।
उपत्यका बाहिरबाट धेरै मानिसहरू काठमाडौंमा जम्मा भएर दुई समूहको शक्ति प्रदर्शन हुँदा तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रबन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकीकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीनवटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रबन्ध गरिएको बताए ।
जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको प्रवक्ता मैनालीले जानकारी दिए ।
प्रदर्शनमा काठमाडौंका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरूमा उपत्यका बाहिरबाट आएका मानिसहरको जमघट हुँदा सम्भावित घुसपैठबाट तनाव उत्पन्न हुनसक्ने प्रहरी अनुमान छ । ती स्थानहरूलाई निगरानीमा राखेर प्रहरीले तैनाथी गरेको बताइएको छ ।
दुर्गा प्रसाईं समूहले राजधानी बाहिरबाट मान्छे ल्याउने र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरू पनि मिसिने सम्भावनाको सूचना पाएकाले प्रहरीले निगरानी बढाउँदै सुरक्षा बढाएको बताएको छ ।
प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरू र राजसंस्था पुनर्बहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस् भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बद्ध सूत्रले बताएको छ ।