News Griha :: न्यूजगृह
उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघ कार्यकर्ताले गरेको आक्रमण सम्बन्धी मुद्दा अन्तिम बहसमा

काठमाडौं— आफूमाथि आक्रमण गर्ने नेविसंघ कार्यकर्ताविरुद्ध जिल्ला अदालत काठमाडौंमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले दिएको मुद्दामा अन्तिम बहस सुरु भएको छ  ।

न्यायाधीश विनोद खतिवडाको इजलासमा बुधबारदेखि सुरु भएको अन्तिम बहस बिहीबार पनि निरन्तर हुने जिल्ला अदालतले जनाएको छ । आज बहस नसकिएपछि इजलासले यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैमा राख्नु भनेको यही इजलासले अर्को दिन पनि सुनुवाइ गर्नु हो । 

आजको बहसमा चलाउनेको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र संजेल लगायतले बहस गरेका थिए । उनीहरूले बहस गरेसँगै सरकारी वकिलको बहस सकिएको छ ।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका चार वकिलले बहस गरे । बाँकी वकिलको बहस सुन्ने समय नभएपछि भोलि पनि सुनुवाइ हुने भएको हो । प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालयमा कुटपिट भएको थियो।  नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले कुटपिट गरेको आरोप छ ।

गत जेठ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो । त्यसविरुद्ध चलाउने सर्वोच्चसमेत पुगेका थिए । उक्त निर्णयविरूद्ध उनले अनशन समेत सुरु गरेका थिए । सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:४०
Weather Update