News Griha :: न्यूजगृह
भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु, चिसोले जाजरकोटमा मृत्यु हुनेको संख्या १३ पुग्यो
फाइल तस्बिर ।

जाजरकोट— अत्यधिक चिसोका कारण जाजरकोटको नलगाड नगरपालिका-४ पीपलचौरमा त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु भएको छ ।  

वडाध्यक्ष बद्री पन्तका अनुसार मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।खत्री दम्पती घर भत्किएपछि कात्तिक २५ गते नै पिपलचौर आएका थिए ।

भत्केको घरनजिकै कैनाखोला किनारमा धनकुमारीका दम्पती ८ र ४ वर्षीय छोराहरूसहित त्रिपालमा बस्दै आएका थिए ।

धनकुमारीको मृत्युसँगै भूकम्पपछि चिसोका कारण नलगाडमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाभर भने १३ जनाको मृत्यु भइसकेको छ । भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको नलगाडमा पनि दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए  ।

‘बिरामीको चाप अत्यधिक बढेपछि बिहानदेखि रातिसम्म उपचार गर्नुपरेको छ,’ उनले भने, ‘औषधिको मौज्दात पनि सकिँदै गएको छ, पर्याप्त उपकरण र बेड अभावमा उपचारमा समस्या भइरहेको छ ।’

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १९:१४
Weather Update