
काठमाडौं— बुधबार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यकक्षमा सरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फुरुङ्ङ परेका छन् । कार्तिक शुक्ल दशमी बुधबारका दिन प्रधानमन्त्री दाहाल नयाँ कार्यकक्षमा सरेका हुन् ।
०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि सिंहदरबारको पुरानो भवन छाडेर प्रधानमन्त्रीको कार्यालय अर्को नयाँ भवनमा सारिएको थियो । झण्डै आधा अर्ब खर्च गरेर ८ वर्षमा तयार भएको नयाँ कार्यालय झकिझकाउ छ ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग खरिद गरेको यो भवन पञ्चायतकालमा आगलागीमा परेपछि विरूप जस्तै भएको थियो । त्यसबेला सिँगारपटार गरेपछि २०७२ को भूकम्पसम्मका प्रधानमन्त्रीहरू यहीँ बसेर काम गर्थे । जहाँनियाँ शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका शासन पद्धतिको साक्षी बनेको सिंहदरबारले अरु के के को साक्षी बन्दै जानुपर्ने हो त्यो भविष्यकै गर्भमा छ ।
नयाँ ठाउँमा सरेपछि प्रधानमन्त्री त्यसैत्यसै फुरुङ्ङपरेका छन् । उनले यो खुशी मनभित्र लुकाइराख्न पनि सकेनन् । उनले वरिपरि उभिएका मन्त्री, मुख्यसचिव, छोरी र कर्मचारीलाई आफ्नो अनुभव सुनाई छाडे ।
प्रधानमन्त्रीले भने, ‘मलाई कता कता पहिलेको ठाउँमा बस्दा गुम्म परेको जस्तो लागेको थियो। त्यहाँ त्यति फ्रेस नभए जस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु ।’
नयाँ कार्यकक्ष प्रवेशपछि आफ्नो कार्यक्षमताले नयाँ गति पक्रिने र एकता समेत अझ बलियो हुने प्रधानमन्त्रीको विश्वास छ । नयाँ ठाउँमा सरेपछि फुरुङ्ङपर्ने र नयाँ नयाँ भावनाहरू पोखेर जनतालाई उत्साहित पार्न खोज्ने प्रधानमन्त्री दाहालको पुरानै आदत हो । ‘जनयुद्ध’ को विश्रामपछि एकैचोटी बालुवाटार अवतरण गर्दापनि उनको प्रसन्नता जोसिलो ढंगले प्रकट भएको थियो । पुनस्थापित प्रतिनिधि सभामा प्रवेश गरेपछि दाहालको खुशी चुलिएको नेपाली जनताले देखेकै हुन् ।
संविधान सभाका दुईदुई वटा निर्वाचनमा आएको फरक अङ्कगणितको परिणामले दाहालको खुशी चुलिएको र अवतरण गरेर राजनीतिको आधारशिविरमा विश्राम गरेको पनि जनताले देखेकै हुन् । सफलतामा निकै उत्साहित हुने र विफलतामा खिस्रिक्क पर्ने बानीले प्रधानमन्त्री दाहाललाई कहिलेकाहीँ दुःखी पनि बनाउने गरेको देखिन्छ ।
अहिले दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेर कार्यकारी नेतृत्व गरिरहेका छन् । पहिलो कार्यकालमा प्रधानसेनापति चलाउँदा दाँतमा ढुंगा लागेपछि उनी सम्भवत जीवनकै सबैभन्दा खिन्नताको क्षण अनुभव गर्न विवश थिए । तर एमालेसँग एकता गरेर नेकपा निर्माण गरेपछि त्यसका आर्किटेक्ट मानिएका दाहालको फुर्क्याइ चानचुने थिएन । तर त्यो दीर्घजीवी हुन सकेन ।
‘पुल काटेर अघि बढेका’ दाहाल र केपी शर्मा ओली नदीका दुई किनार जस्ता भए । दुई किनार मात्र भएनन्, मौका परे एकले अर्कालाई सिध्याउने तहको गालीगलौजमै उनीहरु उत्रिए । जसले उनीहरूलाई मनोरञ्जन दिएपनि नेपाली जनता भने निकै खिन्न भएका थिए ।
त्यसपछिको राजनीतिक परिस्थिति र सत्ताको आरोह अवरोह खुला पुस्तक जस्तै छ । प्रधानमन्त्री दाहालको कोमल मन आगोको छेउमा राखेको नौनी जसरी पग्लिन्छ भन्ने कुरा पटक पटक देख्न जान्न पाएका नेपाली जनता उनको खुशी देखेर झसङ्ग पनि हुने गर्छन् ।
भड्किलो शृंगारप्रसाधनले सिँगारिएको सिंहदरबारमा सरेका प्रधानमन्त्री दाहाल जसरी फुरुङ्ङपरेका छन्, उनको यो प्रसन्नता दिगो होस् र यो नयाँ ऊर्जाले प्रधानमन्त्री देश र जनतालाई सहज तरिकाले सेवा प्रवाह गर्न सफल हुन् भन्ने कामना छ । यसैपनि उनले अब सरकारको कामको प्रकृति र गुणस्तर नयाँ ढंगबाट अघि बढाउने घोषणा पनि गरेका छन् ।
नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस हुनु स्वाभाविक नै हो । नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस गरेका प्रधानमन्त्रीको ध्यान त्यहाँ त्यहाँ जाओस्, जहाँ सरकारले गर्नुपर्ने नियमित सेवाबाट समेत वञ्चित हजारौं जनता छन् । सार्वजनिक सेवा र दैनिक जीवनयापनका सङ्गठित र असंगठित क्षेत्रमा श्रम गरेर गुजारा गरिरहेका ती जनतालाई आफू जस्तै प्रसन्न बनाउन सरकारले के के गर्न पर्छ, के के गर्न सक्छ प्रधानमन्त्रीको ताजा दिमागले सोचोस्, योजना बनाओस्, योजनामात्र नबनाओस् त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन पनि गरोस् । यतिमात्र भइदिए पनि केन्द्रीय सचिवालय सिंहदरबारमा मूल फुटेर निस्किएको प्रसन्नताले महसुस गराएको ताजापन देशका अन्य भूभागसम्म प्रसारित विस्तारित हुनेछ ।
सिंहदरबारको रेट्रो फिटिङ गरेको शहरी विकास मन्त्रालयको नेतृत्व गरेकी मन्त्री सीता गुरुङले यो काममा करिब ४२ करोड रुपैयाँ लागेको जानकारी दिइन् । उनैले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकक्षमा प्रवेश गराएकी थिइन् ।
‘०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको छ । ‘इन्टेरियरको संरचना बनाउनुपर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ’, गुरुङले भनिन् । यो नयाँ भवन प्रधानमन्त्री दाहालको कार्यक्षमता बढाउन र नवीन योजना निर्माण गर्नमा सहयोगी सिद्ध होस्, शुमकामना ।