
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।
‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दबावलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ बैठकमा प्रधानमन्त्रीले भने,‘विदेशी मुद्रा सञ्चितिको दबावबाट अलि सजिलो महसुस हुँदैछ । अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दैछु । हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’
अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको बताएका प्रधानमन्त्री प्रचण्डले भने,‘यसमा भूकम्प, कोभिड, रुस र युक्रेनको युद्धलगायतका कारण छन् । आयात, निर्यातसम्बन्धी सीमाहरूको कारण पनि छ । राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।’
‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने,‘हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।’
बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवम् आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा.प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायतका पदाधिकारीहरू उपस्थित थिए ।













