News Griha :: न्यूजगृह
घुस मागेको अडिओ प्रकरणले संसदमा तरंग, सांसदहरू भन्छन्– स्वास्थ्यमन्त्रीको भाउ दुई करोड, मालदार मन्त्रीहरूको कति ?

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ प्रकरणले सोमबार बसेको संघीय संसदमा तरंग ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले उक्त अडिओ प्रकरणबारे प्रश्न उठाए । उनीहरूले छानबिन गर्न माग गरेका छन् ।

आइतबार आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड माग गरेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको थियो । सदनमा बोल्ने अधिकांश सांसदहरूले उक्त घटनाको छानबिन गरी श्रेष्ठलाई कारबाही गर्न माग गरे ।

सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाउँदै सांसदहरूले मन्त्री बन्नको लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणको छानबिन गर्न माग गरे ।

उनले उक्त अडिओको विषयमा छानबिन गर्न संसदीय समिति बनाउन मागसमेत गरेका छन् । 'प्रतिनिधि सभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो गफगाफमा लाग्छ । त्यो पारदर्शी ढंगले गफगाफ गरेको देखिन्छ', उनले भने, 'यो भन्दा लज्जाबोध के हुनसक्छ सभामुख महोदय ? अनि सुन्छु मैले, दूधको साक्षी बिरालो बसेको पनि यहीँ सुन्दै छु । यो भन्दा बिडम्बना के हुनसक्छ ?'

अडिओमा भनिएको कोरटिमलाई बुझाउनुपर्ने रकमबारे पनि छानबिन हुनुपर्ने सांसद गुरुङले बताए । उक्त छानबिनका लागि आजै समिति बनाउन समेत उनले माग गरेका छन् । सांसद गुरुङले भने, 'त्यसकारण म निवेदन गर्न चाहन्छु । त्यो वार्तामा भनिएको छ कोरटिममा बुझाउनुपर्छ । कोरटिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ? त्यसकारण यसको छानबिनका लागि प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा भ्रष्टाचारका सन्दर्भमा, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्न हुँदैन । आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नको लागि माग गर्छु ।'

यसैगरी बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाए । गठबन्धन सरकारकै सांसदले स्वास्थ्यमन्त्री हुन मेडिकल व्यवसायीसँग दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएसँगै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको उनले बताए । गठबन्धनका नेताहरूले घुस काण्डका विषयमा संसद्मा जानकारी दिन समेत उनले माग गरे ।

प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले मन्त्रीको भाउ दुई करोड पुगेको हो भन्दै व्यङ्ग्य समेत गरे । उनले स्वास्थ्य मन्त्रीको भाउ दुई करोड पुग्दा अरू मालदार मन्त्रीहरूको कति होला ? भन्दै प्रश्न गरे । भ्रष्टाचारकै कारण नेताहरू सामाजिक रूपमै बहिष्करणमा पर्न सक्ने चेतावनी दिँदै उनले घटनाको छानबिन गर्न माग गरे ।

राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरू बाहिर आउन नपाउँदै सांसदले दुई करोड घुस मागेको अडिओ बाहिर आएको बताए । उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने 'लेटर अफ इन्टेन' शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञान समेत नभएको देखिएको बताए ।

सांसद श्रेष्ठले अडिओ झुटो हो भने पनि झुटो नभएको भन्दै झुटो भए छानबिन गरी दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो । सांसदबाट नै हुने यस्ता भ्रष्टाचारजन्य गतिविधिहरू मौलाउँदै गएमा मुलुक कस्तो हुने भन्दै उनले प्रश्न गरे ।

त्यस्तै सोमबारको राष्ट्रिय सभा बैठकमा नेकपा एमालेकी सांसद दिलकुमारी थापा रावल (पार्वती)ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे तत्काल सत्य तथ्य छानबिन गर्न माग गरिन् । घटनाको छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रू भएकाले सांसद श्रेष्ठले घुस माग गरे/नगरेको सत्य तथ्य छानबिन गरी कारबाही गर्नुपर्ने बताइन् ।

त्यस्ता घटना सत्य  भए/नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने उनले भनाइ थियो । सांसद रावलले सरकारलाई संविधान र कानुनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण समेत गराइन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडिओ सार्वजनिक भएको प्रकरणमा माफी मागेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अडिओ सार्वजनिक घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरेका हुन् ।

उनले संसद्को गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण रहने भन्दै यो घटनाले विचलित नहुने बताए । राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्ने भन्दै उनले अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:००
Weather Update