News Griha :: न्यूजगृह
घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ

काठमाडौं—  सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका— १५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका– ८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो । यादवविरुद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरुद्ध बुहारीलाई बन्चरो प्रहारी गरी हत्या गरेको आरोप छ ।

प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्चितालाई मरणासन्न हुनेगरि कुटपिट गरेका थिए । कुटपिटबाट उनको घरमै मृत्यु भएपनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए । भोलिपल्ट छिमेकीले सूचना दिएपछि मंसिर ८ गते बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै सञ्चितातको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डीएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए ।  

उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिबार देवेन्द्रलाई पक्राउ गरी सोधपुछ गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए । 

नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०/३५ किलोमिटरको दुरीमा रहेको भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँमा रहेको झाडीबाट आइतबार बिहान सञ्चिताको शव फेला परेको थियो ।  ५१ वर्षीय रामअशिष विरुद्ध बुहारी संगिताकुमारी दासको गत कात्तिक २७ मा हत्या गरेको आरोप छ । छोरा राजकिशोर मेला हेर्न गएका बेला घरायसी विवादको क्रममा बुहारीको टाउकोमा बन्चरो प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

बुहारीको हत्यापछि लुकिछिपी बस्दै आएका दासलाई इलाका प्रहरी कार्यालय मिर्चैया र मातहतको कल्याणपुर प्रहारीको संयुक्त टोलीले खोजतलासको क्रममा गत मंसिर १ गते पक्राउ गरेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:३०
Weather Update