News Griha :: न्यूजगृह
रुसी सेनामा भर्ना हुन भूपू सैनिकदेखि बहालवाला प्रहरीसम्म लालायित     

काठमाडौं— रुसी सेनामा पठाएर ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेका १२ जनालाई सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्‍वकर्मा, काठमाडौं बस्ने सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, बूढानीलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार छन् ।

त्यस्तै, काभ्रेका २९ वर्षीय सुवास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुङ्गाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

russian-froud-1701863761.jpg

पछिल्लो समय रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । यसरी युद्ध चलिरहँदा रुसी सेनामा भर्ना हुँदा धेरै कमाइने प्रलोभनमा परी नेपालीहरू रुस जाने गरेको कुरा केही समयअघि नै खुलेको थियो ।  युद्धमा लड्न गएका मध्ये ६ जना नेपालीको मृत्युसमेत भइसकेको छ । त्यस्तै एक जना भने युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

यसरी प्रलोभनमा परी रुसी सेनामा भर्ना हुन पठाउने १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । यस प्रकरणमा हरिबहादुर, सुजाता र ईश्वर मुख्य व्यक्ति देखिएको प्रहरीको भनाइ छ । हरिबहादुर एक म्यानपावर व्यवसायी हुन् । उनी पूर्वसैनिक हुन् । परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार उनी लगायतले १८ जना नेपालीहरूलाई विभिन्न माध्यमबाट रुस पठाएका छन् । 

‘कतिपयलाई यूएई, कतिलाई नयाँदिल्ली हुँदै रुससम्म पुर्‍याएको देखिन्छ,’ एसएसपी खत्रीले भने, ‘नेपालीहरूलाई भिजिट भिसामै त्यहाँसम्म पुर्‍याएको देखियो।’ यसअघि रुस गएका ११ जना फर्किइसकेका छन्। केही समय युद्धको लागि अभ्यास गरी नेपाल फर्किएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । 

Bhupendra-Bahadur-Khatri-1701864784.jpg
एसएसपी भुपेन्द्र खत्री

त्यसरी फर्किने मध्ये एक जना सशस्त्र प्रहरीका असई थिए । जागिर छाडेर गएका ती सशस्त्रले ७०० राउन्ड गोली समेत फायर गरी फर्किएको बताएका छन् । ‘हरिबहादुर मार्फत ती असई रुस गए । त्यहाँ पुगेर सेनामा छिरेर युद्ध क्षेत्रमै जाने तयारी भइसकेको रहेछ। ७०० राउन्ड गोली प्रहार गरिसकेको भनेका छन्,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘तर केही समयपछि अनेक युक्ति निकालेर फर्किएको भनेर भनेका छन्।’

उनी पनि प्रहरीको सम्पर्कमा पुगेका थिए। तर उनले जाहेरी भने दिएका छैनन् । यसरी एजेन्टहरूले ७/८ लाखमा जान सकिने र त्यहाँ मासिक दुई लाख रुपैयाँसम्म कमाइ हुने बताएपछि उनीहरू जान तयार भएको देखिएको प्रहरीले बताएको छ । यसरी रुसी सेनामा जागिर पाइने भन्ने सामाजिक सञ्जालमा विज्ञापनहरू आउने गरेको पनि प्रहरीले बताएको छ । 

प्रहरीले सुजाता दाहालको कार्यालयबाट २७ वटा र ईश्वर अधिकारीको कार्यालयबाट १६ वटा पासपोर्ट बरामद गरेको छ । पासपोर्ट बरामद भएकामध्ये दुई जना नेपाल प्रहरीकै बहालवाला सिपाही समेत रहेको प्रहरीले बताएको छ । उनीहरूले प्रहरीको जागिर छाडिनसकेको र जाने तयारी गरिरहेको खुलेको हो । 

passport-and-money-1701864787.jpg

विशेषगरी भूपू सैनिक, भूपू प्रहरी र सुरक्षाकर्मीहरू त्यहाँ जान आकर्षित भएको देखिएको हो।  एसएसपी खत्रीले यसरी नेपालबाट रुसी सेनामा भर्ना हुन जानेको संख्या ठूलो रहेको बताए । ‘अहिले यो देखिँदा सानोमात्रै देखिएको हो। तर यसरी जाने संख्या धेरै ठूलो छ,’ उनले भने ।

अहिले पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले बरामद गरेका पासपोर्टका धनीलाई सम्पर्क गर्न खोजिरहेको छ। उनीहरूबाट जाहेरी लिएर मुद्दा अनुसन्धान अघि बढाउने तयारी छ । यस्तै रुसी सेनामा पठाउने सरकारको कुनै योजना नभएको भन्दै प्रहरीले यस्तो प्रलोभनमा नपर्न पनि अनुरोध गरेको छ। ठगिएको भएमा प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ ।

passport-and-money-1-1701864785.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:००
Weather Update