News Griha :: न्यूजगृह
सुक्यो नागदह, हराए नाग

रामेछाप— रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह जसको कारण गाउँको नाम नै नागदह बन्यो तर अहिले त्यही नागदह सङ्कटमा परेको छ । 

गाउँकोबीचमा रहेको नागदह सुक्दै गएको छ । गाउँको नाम नागदह छ तर अब न पानीको दह जम्छ, न पोखरीमा नाग नै छन् । जिल्लाको ऐतिहासिक पोखरी नागदह सुक्दै गएको छ ।

पोखरीमा नाग थान रहेको र त्यहाँ नाग बस्ने भएको कारण सो दहलाई नागदह भनिएको साबिकको नागदह गाविसको पूर्व गाविसअध्यक्ष आसबहादुर तामाङ बताउँछन् । ‘अहिले दह पनि सुक्यो, नाग पनि देखिँदैनन्,’ तामाङले भने ।  

नागदहमा पोखरीकोबीचमा दुई वटा ठूला ढुङ्गा छन् । तिनै ढुङ्गाबाट उडेका दुईवटा चरा मध्ये एउटा नागदहको पहिरे खोला र अर्को तिल्पुङको हिलेखोलामा बसे पछि ठुलो पानी परेको र ती दुवै खोलामा बाढी पहिरो आएपछि नागदहको पानी क्रमशः सुक्दै गएको बुढापाकाहरू बताउँछन् ।

‘धेरै पछिसम्म पनि निलो पानी जमीरहन्थ्यो, कहिल्यै सुक्दैन थ्यो, अहिले पानी नै जम्दैन,’ तामाङले भने । 

प्राकृतिक रूपमा बनेको दहमा स्थानीयले डिलमा सामान्य ढुङ्गा माटोको गाह्रो लगाइदिएका थिए । पछि डिलमा सिमेन्टको गारो लगाइयो, पोखरी पनि खारियो तर पानी जमेन । एक धारो पनि नियमित पोखरीमा झरिरहन्छ तर पनि पानी जम्दैन ।

अहिले पोखरीको डिलमा नागको प्रतिमा बनाउने काम पनि भएको छ तथापि पोखरीमा पानी र नाग दुवै अडेका छैनन् । 
यो पोखरीमा पुस मसान्त र माघे सङ्क्रान्ति दिन ठुलो मेला समेत लाग्ने गर्दथ्यो । अहिले पनि स्थानीय भेला भएर सो मेला धान्दै आएका छन् । 

पहिला पोखरीमा नाग खेलिरहेका हुन्थे । त्यसैले पनि नाग हेर्न मानिसहरू जम्मा हुन्थे । अहिले नाग देखिँदैनन् । ‘अब नाग मासिए, दह ठुलो पारियो तर पानी नै जमेन,’ तामाङले भने ।  

स्थानीयका अनुसार सो पोखरीमा ठुलो स्वरमा कराउने एउटा भ्यागुतो थियो । भ्यागुतो बाहिर आएको बेला स्थानीय ल्हो माइलाले पोखरी नजिकै बारी जोत्ने क्रममा त्यो भ्यागुतोलाई फालीको चोट लाग्यो र केही दिनपछि भ्यागुतो मर्‍यो । भ्यागुतो मरेपछि दहको पानी क्रमशः सुक्दै गएको भन्ने अर्को थरीको भनाइ छ । 

जे होस् अहिले नागदहमा पानी जम्न छाडेको छ । ऐतिहासिक र धार्मिक महत्वको सो दहको संरक्षण गरी पानी जमाउने हो भने धार्मिक पर्यटकीय स्थल बन्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:०३
Weather Update