News Griha :: न्यूजगृह
५० किलो चामलको लागि नागरिकता बन्धकी, ६ वर्षसम्म साहुकहाँ काम गरेपनि ऋण चुक्ता भएन

सप्तरी— साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।

डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उनीहरूको परिवार ठूलो समस्यामा परेका छन् । 

गाउँ नजिकै सञ्चालनमा रहेको इँटा उद्योगमा काम गर्दै आएका उनीहरूको नागरिकता सोही इँटा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदिश साहले बन्धकीमा राखेका हुन् । ‘इँटा उद्योगमा काम गरिरहेका बेला २०७१ सालमा ५० किलो चामल मालिक साहसँग मागेँ । उहाँले चामल दिएबापत नागरिकता बन्धकीमा राख्नुभयो,’ ६० वर्षीया सुकराती सदाले भने, ‘चामलबापत भट्टामा छ वर्ष काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले नागरिकता फिर्ता दिन मानिरहेका छैनन् ।’

नागरिकता फिर्ता दिन पटकपटक साहुलाई भने पनि अझै भट्टामा काम गर्नुपर्ने अनि मात्रै नागरिकता फिर्ता दिने जवाफ आउने गरेको उनले गुनासो गरे । ‘२०७६ चैतमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेको बेला सबै काम बन्द भएर दैनिकी चलाउन मुस्किल भएको थियो । त्यही समयमा मालिकसँग ऋणबापत ५० किलो चामल लिएको थिएँ,’ ४५ वर्षीय भिखन सदाले भने, ‘साहुले चामल लिन कुनै सामान बन्धकी राख्नुपर्छ वा भट्टामा थप समय मजदुरी गर्नुपर्छ नत्र ऋण पाइन्न भनेर फर्काइदिए ।’

आफूसँग बन्धकीमा राख्ने केही नभएकाले नागरिकता नै राख्नुपरेको उनको दुखेसो छ । ‘मसँग बन्धकीमा राख्न जग्गा, गरगहना वा कुनै चलअचल सम्पत्ति नभएकाले काम गरेर ऋण तिर्छु चामल दिनुस् भन्दा नमानेर बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो,’ भिखनले भने । नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएको, विपन्नताका कारण साहुसँग ऋण लिएको ५०/५० किलो चामलबापत लामो समयसम्म इँटाभट्टामा काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै थप काम गर्न साहुले दबाब दिँदै आएको उनीहरूको भनाइ छ । ऋण चुक्ता नभएसम्म बन्धकीमा राखिएको नागरिकता फिर्ता नगर्ने भन्दै साहुले सबैलाई फर्काउने गरेको अर्का स्थानीय ५० वर्षीय अच्छेलाल सदाले बताए ।   

साहु कहाँ नागरिकता बन्धकीमा राखेपछि अहिले उनीहरूको परिवारमा नागरिकता आवश्यक पर्ने अन्य काम पनि रोकिएका छन् । ‘पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ,’ दशन सदाको श्रीमती फुलोले भनिन्, ‘वडाध्यक्षबाट नागरिकताको सिफारिस गराएर सबै कागजात लिई पटकपटक इलाका प्रशासन कार्यालय बोदे बर्साइन पुगेँ । पतिको नागरिकता नल्याएसम्म हुँदैन भनेर फर्काइदिएका छन् ।’ एकातिर पतिको नागरिकता बन्धकीमा रहेको भन्दै आफ्नो नागरिकता पनि बनाउन समस्या भइरहेको उनले दुखेसो पोखिन् ।

ऋण लिएबापत पतिले बन्धकीमा राखेको नागरिकता माग्न पटकपटक साहु कहाँ धाउँदै आए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको फुलोले  बताइन् । बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको अभावमा भएकाले सम्भव नभएको अच्छेलाला सदाले बताए । ‘नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकता नम्बर, जारी मिति चाहिन्छ,’ उनले भने, ‘वडाध्यक्षले प्रतिलिपि सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउन भन्नुहुन्छ । मसँग नागरिकताको फोटोकपी पनि छैन । नम्बर र जारी मिति पनि याद छैन ।’

प्रमाण जुटाउन नसक्दा प्रतिलिपि समेत बन्न नसकेको उनको दुखेसो छ।  नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुगेको भन्दै राज्यका हरेक सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ ।     
डाक्नेश्वरी–३ का वडाध्यक्ष भागेश्वर यादवले ऋणबापत नागरिकता बन्धकीमा राखेको विषयमा आफूलाई पनि जानकारी रहेको बताए । मुसहर समुदायका व्यक्तिले बन्धकीमा राखेको नागरिकता फिर्ता गराउनका लागि आफू पहल गर्न तयार रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:४५
Weather Update