News Griha :: न्यूजगृह
आज पानी पर्ने सम्भावना छ ?

काठमाडौं  काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा बादल लागेको छ । लुम्बिनी, मधेस प्रदेशसहितका पूर्वी तराईमा हुस्सु कुहिरो पनि लागेको छ ।

अहिले लागेको बादल र हुस्सु/कुहिरो विस्तारै हट्दै जाने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए ।

अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पारदर्शिता ५ किलोमिटर रहेकाले हवाई जहाजको उडान/अवतरण प्रभावित भएको छैन ।

मौसमविद् पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

आज बिहान पौने आठ बजेको काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ । आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०८:१३
Weather Update