News Griha :: न्यूजगृह
दुर्घटनामा लेखापाल र शिक्षकको मृत्यु, अर्का शिक्षक घाइते

चितवन— चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल चालक सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकलमा सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

सोही विद्यालयका अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते छन् । मृतक लेखापाल अधिकारी चितवनको माडी नगरपालिका–१ निवासी र शिक्षक खत्री सुर्खेत निवासी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको भरतपुर र खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । 

ठक्कर दिने बोलेरो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:०७
Weather Update