कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु

कास्की— पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल छन्।
पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० ०५:२६