
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारभन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधरण सभामा अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए । ‘सरकारका पनि कमीकमजोरीहरू रहेका छन् । सरकारले समयमा नै खर्च गर्नसकेको छैन । त्यो स्वीकार गर्नुपर्छ । समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ । राजनीतिक, निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ,’ उनले भने, ‘त्यसैले सरकारको प्रभावकारिता बढ्न जरुरी छ । पारदर्शिता बढाउन जरुरी छ । निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ । अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ । सरकारले लगानीको वातावरण सहज बनाउनको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू गछौँ ।’
अर्थमन्त्री डा. महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताए । उनले अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रूपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गरे ।
उनले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधरण खर्चलाई कम गर्नेमा रहेको बताए । उनले सरकारले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने बताए ।
उनले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाइ आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको लगानीबाट नै अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।
अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताए । उनले काभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए । उनले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजस्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए । उनले सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समीक्षा, निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको बताए ।
अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गरे । उनले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताए ।













