News Griha :: न्यूजगृह
हराइरहेकी बालिकाको शव पोखरीमा भेटियो, बलात्कारपछि हत्याको आशंका

काठमाडौं— धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव पोखरीमा फेला परेको छ । सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा बलात्कार गरी हत्या भएको देखिएको छ ।  

‘तलको भागको कपडा छैन । शरीरमा रगतजस्तो देखिएको छ । संवेदनशील अङ्गमा चोट देखिएको छ । बलात्कारकै आशंका छ, यसबारे विस्तृत अनुसन्धानपछि खुल्ला,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने । 

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए/नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । 

उनकाअनुसार राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा ती बालिका बुधबार साँझ आमासँगै गएकी थिइन्। त्यहीँबाट उनी बेपत्ता भएकी थिइन् । 

उनी हराएको भोलिपल्ट बिहान ९ बजेतिर प्रहरीलाई घटनाबारे खबर गरिएको थियो। स्थानीयसँगै प्रहरीले खोजतलासको क्रममा बिहीबार बेलुकी ७ बजेतिर पोखरीमा शव फेला परेको डीएसपी अवाले बताए ।

उनकाअनुसार अहिले पोखरीको पानी सुकाएर शवको मुचुल्का उठाउने कार्य भइरहेको छ । 

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको डीएसपी अवाले बताए । अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०९:२०
Weather Update