
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा समुन्नति ल्याउने बताएका छन् ।
मंगलबार महासंघको ५७ औं वार्षिक साधारण सभामा अध्यक्ष गोल्छाले उद्योगी तथा व्यवसायीहरूबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने उनको भनाइ छ ।
उनले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरूले नै मुलुकमा समुन्नतिको बाटो कोर्ने दाबी गरे । ‘अर्थतन्त्रमा अहिले निराशा छ यो हटेर जान्छ । अहिले लागत बढेको छ तर सधैँ अक्सर टाढा रहने छैन । अहिले व्यवसायी कठिन छ,’ उनले भने, ‘तर, समुन्नतिको बाटो हामीले नै कोर्ने छौँ । यो मेरो कल्पना मात्रै होइन । विगतमा हामीले पुष्टि गरेर देखाएका छौँ ।’
उहाँले व्यवसायीहरुको अनकुलतालाई प्रतिकुलतामा वदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताए । उनले विभिन्न देशहरूमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताए ।
अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पु¥याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताए ।
उनले महासंघ सरकारविरुद्ध आन्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताए । उनले अब महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताए । महासंघको जिम्मेवारी वहन गर्ने हातहरूले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने पनि उनको भनाइ छ ।
उनले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको बताए । वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न उनको सुझाव छ । अध्यक्ष गोल्छाले उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे ।













