News Griha :: न्यूजगृह
बजार एकातिर, राष्ट्र बैंकको प्रतिवेदन अर्कोतिर

काठमाडौं— बजारको आर्थिक स्थिति खस्किरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकले भने देशको समग्र आर्थिक स्थिति ठिकठाक भएको ‘विरोधाभाषपूर्ण’ आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अघिल्लो आर्र्थिक वर्षको तथ्याङ्कलाई आधार मान्दै यो वर्षको आर्थिक स्थिति निकै सन्तोषजनक भएको उल्लेख गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय स्थितिलाई हेर्दा बैंकहरूमा पर्याप्त तरलता रहेको देखिन्छ । त्यस्तै, रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ भने सोधनान्तर घाटा घटेको देखिन्छ । ‘बैंकहरूमा पर्याप्त तरलता रहेको छ । जसकारण आम रूपमा आकलन गरिएअनुसार यहाँका बैंक तथा वित्तीय संस्थाहरू समस्यामा छन् भन्ने कुरा पूर्णत झुटो हो,’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘रेमिट्यान्स बढ्दा विदेशी मुद्राको सञ्चिति बढेको छ र सोधनान्तर घाटा पनि घटेको छ । त्यसैले देशको अर्थतन्त्रलाई लिएर चिन्ता लिइरहनुपर्ने स्थिति छैन ।’

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिलाई हेर्दा अघिल्लो वर्ष २ सय ५५ अर्ब सोधनान्तर घाटा रहेकोमा चालु आर्थिक वर्षको असोजसम्ममा १ सय ४८ अर्बको बचत रहेको छ । त्यस्तै पछिल्लो केही महिनायता वार्षिक १ अर्बभन्दा माथि रेमिट्यान्स नेपाल भित्रिरहेको छ । 

तथ्याङ्कअनुसार रेमिट्यान्समा २५ दशमलव ३ प्रतिशतको दरले वृद्धि भएको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिति बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्म ९ दशमलव ४ अर्ब अमेरिकी डलर विदेशी मुद्राको सञ्चिति रहेकोमा यो वर्ष ८ महिनाभित्रै १० दशमलव ७ अर्ब अमेरिकी डलर सञ्चिति रहेको तथ्याङ्कमा उल्लेख छ । 

बाहिर गज्जब, भित्र अझै समस्या  

तथ्याङ्कले अर्थतन्त्रको सूचकहरूको अवस्था गज्जबको देखाइरहँदा पनि मुद्रास्फीतिको सम्बन्धमा भने अझै समस्या रहेको देखाउँछ । अघिल्लो दुई आर्थिक वर्षमा अत्यधिक आयात हुँदा त्यसको असर अर्थतन्त्रमा अहिलेसम्म देखिएको गभर्नर अधिकारले बताए । 

तथ्याङ्कअनुसार नेपालमा महँगीको दर ७ दशमलव ४४ प्रतिशतले बढेको देखिन्छ । बैंकहरूले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि ५ प्रतिशतभन्दा बढी ऋण प्रवाह गर्न सकेका छैनन् । जब कि चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले १२ प्रतिशत कर्जा प्रवाह विस्तार गर्ने लक्ष्य लिएको थियो ।  

तथ्याङ्कअनुसार अघिल्लो दुई वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात १९ दशमलव १ प्रतिशतले घटेको छ भने निर्यात २९ दशमलव ९ प्रतिशतले घटेको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकोले पनि वैदेशिक व्यापार घाटा फागुनसम्म पनि ऋणात्मक अवस्थामा देखिन्छ । ‘यद्यपि मुद्रास्फीति नियन्त्रित र घट्ने क्रममा छ,’ नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘सेवा व्यापारको घाटा पनि कम हुँदै गएको छ । समग्रमा भन्दा चालु आर्थिक घाटा सुधार हुँदै गएको स्थिति छ । यो सन्तोषजनक कुरा हो ।’

'बैंक तथा वित्तीय क्षेत्रमा पनि छैन समस्या'

चालु आर्थिक वर्षको फागुनसम्मको स्थिति हेर्दा बैंक तथा वित्तीय संस्थाहरूमा पनि कुनै समस्या नभएको राष्ट्र बैंकले दाबी गरेको छ । राष्ट्र बैंकको नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरूको पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्छ । तर, तथ्याङ्क हेर्दा नेपालका ‘क’ वर्गका बैंकहरूसँग १३ दशमलव ०१ प्रतिशत, ‘ख’ वर्गका बैंकहरूसँग १२ दशमलव ७१ प्रतिशत र ‘ग’ वर्गका फाइनान्सहरूसँग १७ दशमलव ०५ प्रतिशत पूँजी पर्याप्तता देखिन्छ । 

‘समग्रमा हेर्ने हो भने नेपालका बैंक तथा वित्तीय संस्थाहरूले २४ प्रतिशत तरलता कायम गरेका छन्,’ गभर्नर अधिकारीले भने, ‘त्यसैले तरलता अभावकै कारण बैंकहरू समस्यामा पर्ने अवस्था छैन ।’ यतिसम्म कि तरलता भएकै कारण अन्तरबैंक लेनदेन ७ प्रतिशतमा हुने भएपछि पछिल्लो समय बैंकहरूले राष्ट्र बैंकमार्फत ‘एसएलएफ’ (स्थायी तरलता) सुविधा लिएकै छैनन् ।

अघिल्ला आर्थिक वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूले अधिक कर्जा प्रवाह गरेकाले निष्क्रिय कर्जा बढेको कारण पछिल्लो समय कर्जाको माग गर्नेहरूलाई समस्या परेको राष्ट्र बैंकले बताएको छ । तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको समग्र निष्क्रिय कर्जा २ दशमलव ६३ प्रतिशत देखिन्छ । ‘यो दर अझै बढ्ने देखिन्छ । त्यसैले उनीहरू अहिले कर्जा प्रवाह भन्दा पनि रिकभरीमा केन्द्रित भएकाले नयाँ कर्जामा समस्या देखिएको हो,’ गभर्नर अधिकारीले भने, ‘पछिल्लो समय देखिएको केही अराजक गतिविधिका कारण पनि बैंकहरू झस्केका हुन् ।’

व्यवसायका लागि भनेर लिएको ऋण घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा अत्यधिक प्रयोग हुँदा निष्क्रिय ब्याज बढेको राष्ट्र बैंकको बुझाइ छ । ‘कर्जाको दुरुपयोग अत्यधिक भएको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘त्यसमा पनि हामीले कडाइ गरेका छौँ । बैंक तथा वित्तीय क्षेत्रबाट ऋण लिएर त्यसको दुरुपयोग गर्नेहरूलाई फौजदारी मुद्दा लगाएर पनि कारबाही गरिरहेका छौँ ।’

बैंकको ब्याजको सवालमा पनि गभर्नर अधिकारीले विस्तारै घट्दै जाने बताए । बैंकको ब्याज पूर्ण रूपमा बजारको माग र आपूर्तिमा निर्भर हुने भएपनि राष्ट्र बैंकले सक्रिय रूपमा व्यवस्थापनका लागि काम गरिरहेको उनले बताए । 

राष्ट्र बैंकको तथ्याङ्क मान्न तयार छैन बजार 

नेपाल राष्ट्र बैंकले नेपालको आर्थिक अवस्था ठिकठाक भएको तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक गरेपनि यो कुरालाई मान्न नसकिने जानकारहरू बताउँछन् । 

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले नेपालको आर्थिक गतिविधि डेढ वर्षको तुलनामा ५० प्रतिशतले घटेको दाबी गर्छन् । ‘यो विषयमा नेपाल सरकार र राष्ट्र बैंकले बुझ्न जरुरी छ,’ गोल्छाले भने, ‘अर्थतन्त्रलाई सुधार्नका लागि नीजि क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्छ र आवश्यकताअनुसार सुविधा पनि दिनुपर्छ ।’

त्यसो त अर्थशास्त्री भीम भूर्तेलले राष्ट्र बैंकले आर्थिक अवस्थाको बचाऊ गर्नु उसको धर्म भएपनि वास्तविकता अर्कै रहेको बताउँछन् । उनले नेपालमा अहिले देखिएको आर्थिक संकट नियोजित रूपमा केही व्यक्ति र समूहहरूले निर्माण गरेको बताउँछन् । देशको आर्थिक नीतिलाई नै आफ्नो पक्षमा बदल्नका लागि आर्थिक संकट निम्त्याइएको उनको दाबी छ । उनले प्रत्येक १०/१२ वर्षमा यस्तो खाले अवस्था सिर्जना हुँदै आएको बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १८:११
Weather Update