News Griha :: न्यूजगृह
काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौं—  काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । 

'यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,' मौसमविद् सञ्जीव अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो । 

काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिबिलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने उनको भनाइ छ । 
उनका अनुसार आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

मौसमविद् अधिकारीले दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए ।

उनले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो । 

तराईका विभिन्न भूभागमा लागेको हुस्सु तथा कुहिरो दिउँसोसम्म हट्ने मौसमविद् अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०६:५९
Weather Update