
काठमाडौं— स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति सम्पन्न खेलमा एलाभेसलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।
रियलले १८ खेलबाट ४५ अंक बनाएको छ । समान ४५ अंक रहेको जिरोना दोस्रो स्थानमा झरेको छ । जिरोनाले विहीबार राति रियल बेटिससँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि रियलले जित निकाल्दा शीर्ष स्थान कब्जा गर्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल ५४ औं मिनेटमा १० खेलाडीमा झरेको थियो । रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
उनले खराब ट्याकल गरेपछि भारको सहायताले रातो कार्ड दिइएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयको दोस्रो मिनेटमा रियलले गोल गरेको थियो ।
रियलका लुकास भेजक्युजले गोल गरेका थिए । सोही गोल नै रियललाई ३ अंक दिलाउन पर्याप्त भयो । रियलसँग पराजित भएको एलाभेस १६ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत बिहीबार रातिकै अर्को खेलमा कार्डिज र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दा मालोर्काले ओसासुनालाई ३–२ ले स्तब्ध बनायो ।













