News Griha :: न्यूजगृह
झीं गाउँमा आयातित मदिरा निषेध
सांकेतिक तस्बिर ।

बेनी— म्याग्दीको रघुगङ्गा गाउँपालिका– ५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।

परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन् । २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् । विभिन्न कम्पनीका मदिरा र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए ।

‘बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ,’ उनले भने ।

सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरूले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरू लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए । मदिरा सेवन गर्नेहरूलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ । युवा घरेलु मदिरा सेवन गर्न सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका मदिराजन्य पदार्थ गाउँमा नभित्रिने भएकाले युवालाई समेत कुलतबाट टाढै राख्न सघाउ पुगेको स्थानीय समाजसेवी गोविन्द पाइजाले बताए ।

विवाह, व्रतबन्ध, किरियालगायत संस्कारजन्य कार्यमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने गरेको छ । गाउँमा हुने यस्ता संस्कारजन्य कार्यमा बजारबाट आयातित पेयपदार्थहरुको समेत प्रयोगलाई हटाइएको छ । गत वर्ष आफ्नो छोरी सुस्माको विवाहबाट यो नियमलाई समेत गाउँमा कार्यान्वयनमा ल्याइएको समाजसेवी पाइजाले बताए ।

गाउँमा आयातीत मदिरा र संस्कारजन्य कार्यमा चिसो पेय पार्थहरूलाई प्रयोगमा निषेध गरेपछि एउटा विवाहमा दुई लाखसम्म फजुल खर्च कटौती हुने गरेको उनले अनुभव सुनाए। मगर समुदायको बाहुल्य बसोबास रहेको झीं गाउँमा करिब तीन सय ४० घरधुरी छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीं गाउँमा घरबाससमेत सञ्चालनमा छ ।

यहाँ आउने पर्यटकहरूलाई स्थानीय कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाइएको मदिराको प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए ।  

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:०९
Weather Update