News Griha :: न्यूजगृह
इनरुवामा बन्यो ढल्केबरपछिको दोस्रो ठूलो विद्युत सबस्टेसन, प्रधानमन्त्रीले गरे उद्घाटन

सुनसरी— भोक्राहा नरसिंह गाउँपालिका– ४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित सबस्टेसनको उद्घाटन गरेका हुन् । ढल्केबरपछिको यो दोस्रो ठूलो सबस्टेसन हो ।

इनरुवामा ४०० सय र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरिएको छ । राष्ट्रिय विद्युत विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो ।

pm-sunsari-sub-station-1-1703238629.jpg

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियत पूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०—१३२—३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । ४०० र २०० केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भई सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए ।

विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको सम्झिँदै प्रचण्डले भने, ‘त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरू अँध्यारोमै थिए, अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ, आगामी एक देखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीयकरण घोषणा गर्ने सुनौलो दिन अब छिट्टै आउँदै छ ।’ 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले नेपालको जलविद्युत विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा ५ सय मेगावाट विद्युत् थपिनुले देश प्रगतितर्फ बढेको तथ्य र तथ्याङ्कले पुष्टि गरेको दाबी गरे ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालनमा आएसँगै यस प्रदेशका उद्योगी व्यवसायीहरूले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुने विश्वास जनाए ।

pm-sunsari-sub-station-2-1703238629.jpg

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा पर्ने जलविद्युत आयोजनाहरू बाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए ।

‘यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा—पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा—अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, उनले भने । 

पूर्वपश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको घिसिङको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:३६
Weather Update