News Griha :: न्यूजगृह
को होला दोस्रो वर्षको प्रधानमन्त्री? 
सत्ता गठनबन्धनमा आवद्ध शीर्ष नेताहरू । फाइल तस्बिर । 

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको दोस्रो वर्ष ‘नयाँ धक्का’ दिएर सुरु गर्ने नवीन सोच सार्वजनिक गरेका छन् ।  

‘नयाँ धक्का’ को परिभाषा नगरे पनि प्रधानमन्त्री प्रचण्डले यसलाई क्रमभंग कै नयाँ संस्करण जस्तो अर्थमा बुझे पनि हुने सुविधा दिएका छन् । क्रमभंग उनैले प्रचलन गरेको राजनीतिक फर्मुला मानिन्छ । ‘नयाँ धक्का’ मा जनताबाट साथ पाउने विश्वास प्रधानमन्त्री प्रचण्डको छ ।

राजनीतिक रुपमा सचेत मानिने कोशी प्रदेशको सुनसरी पुगेका प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेशनको रिबन काटेपछि उत्साहित हुँदै भने, ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरु गर्दैछु, म साँच्चै क्रमभंग गर्दैछु ।’

संसदीय निर्वाचनमा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्रका अध्यक्ष हुन् प्रचण्ड । पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेस र एमालेसँग चोइटिएर बनेको नयाँ दल नेकपा समाजवादी सहितको साथ लिएर उनी वर्षदिन देखि मिलिजुली सरकारको नेतृत्व गरिरहेका छन् ।

तीन दिनपछि पुस ९ मा प्रचण्ड नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा गर्दैछ । दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकार सञ्चालन हुनेछ भन्ने सन्देश दिन पनि प्रचण्डले नयाँ धक्काको तुरुप फालेका हुनसक्छन् । अर्को वर्ष पनि प्रचण्ड नै सरकारको नेतृत्वमा रहिरहलान् भन्ने कुनै निश्चित आधार त देखिएको छैन । तैपनि उनले वर्षदिनको पात्रो पल्टाउँदै आफूले भ्रष्टाचारविरुद्ध जेहाद नै छेडेको दाबी गर्दै चर्चित ठूला भ्रष्टाचार काण्डको छानविन गर्न आयोग र समिति बनाउन पछि नपरेको देखाउन उनी डटेका छन् ।

सुन तस्करी, नक्कली शरणार्थी र एनसेल शेयर बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्ड केही प्रखर भएर प्रस्तुत पनि भैरहेका छन् । सरकार प्रचण्डकै नेतृत्वमा अघि बढिरहन्छ कि सत्ता समीकरणले कोल्टे फेर्छ भन्ने प्रश्नले उचित जवाफ पाउन सकिरहेको छैन । नेपाली कांग्रेसभित्रको प्रतिपक्षी बेञ्चबाट सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने स्वर गुञ्जिएको छ ।

वरिष्ठ नेता शेखर कोइरालाले नै प्रचण्ड नेतृत्वको सरकारको कार्यकुशलतामाथि धावा बोलिसकेका छन् । माओवादी नेतृत्वको सरकारको समर्थक बनिरहे नेपाली कांग्रेस झनझन् कमजोर हुँदै जाने कोइरालाको तर्क रहेको छ । सभापति शेरबहादुर देउवाले पनि प्रचण्डलाई नै समर्थन दिइरहने कि नयाँ विकल्प सोच्ने भन्ने बारेमा यतिन्जेल कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेतामा अघि सार्ने भनाई सार्वजनिक गरेर सभापति देउवालाई तर्साई दिएका छन् । तर थापाको यो भनाइको अन्तर्य आगामी महाधिवेशनसँग सम्बन्धित रहेको आकलन पनि गरिएको छ । नेता कोइरालालाई दलको नेतामा रोक्न पाए भावी सभापतिको उम्मेदवारीमा आफ्नो दाबी बलियो हुने थापाको मनोकाङ्क्षा हुनसक्ने विश्लेषण गरिएको छ । यसर्थ पनि सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले पाइरहन्छन् भनेर विश्वास गरिहाल्ने बलियो आधार देखिँदैन ।

प्रसङ्ग प्रधानमन्त्री पदमा प्रचण्डको नेतृत्वको निरन्तरता रहला कि नरहला भन्ने नै छ । प्रचण्डले केही दिन अघि पार्टीका कार्यकर्ताहरूमाझ अर्कै शब्दावली प्रयोग गर्दै भनेका थिए, ‘मेरो नेतृत्वको सरकारले एक वर्ष पूरा गर्नै लागेको छ। अर्को वर्ष सुरु गर्दा म गेयर चेन्ज गर्ने छु । गेयर चेन्ज गर्दा गाडी केही हुत्तिएको जस्तो पनि लाग्न सक्ला तर म गर्नेछु, जनताको साथ पाउने नै छु ।’   

काठमाडौंमा ‘गेयर चेन्ज’ गर्ने भन्दै गरेका प्रधानमन्त्री प्रचण्डले नयाँ मुडमा रहेको धरान नजिक पुगेर किन ‘नयाँ धक्का’ दिएर सरकारको नेतृत्वलाई आफ्नै काँधमा रहने दाबी गरे भनेर चर्चा सुरु भइसकेको छ । विगतमा दुईवटा सरकारको नेतृत्व गर्दा खल्लो अनुभव सँगाल्दै सिंहदरबारबाट बाहिरिएका प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गरिरहँदा भने केही नवीन र जनअपेक्षा निकटका कामहरू गर्ने प्रयास गरेको प्रतिक्रियाहरू सुनिन्छन् ।

खासगरी भ्रष्टाचारविरुद्धका छलफल र प्रश्नोत्तरमा संसदीय समितिमा उपस्थित भएर प्रचण्डले संसदीय गरिमाको महत्व बढाउँदै मन्त्रीहरूसँग वर्षदिनको प्रगति विवरण माग्दै कडा निर्देशन दिएबाट पनि सानो उपलब्धिबाट पनि फुरुङ्ग पर्ने नेपाली समाजलाई खुशी पारेको देखिन्छ । 

गत संसदीय निर्वाचनमा सहकार्य गरेको दल नेपाली कांग्रेसलाई अनपेक्षित रुपमा धक्का दिएर नेकपा एमालेसँग सत्ता सहकार्य गर्न पुगेका थिए प्रचण्ड । तर प्रतिनिधि सभाको सभामुखको निर्वाचन सकिना साथै एमालेलाई धक्का दिएर फेरि फर्किएका थिए कांग्रेससँग हातेमालो गर्न । राष्ट्रपति पदमा सहयोग गर्ने वाचा गरेपछि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन दिएको थियो । त्यसयता प्रचण्डले कसैलाई पनि धक्का दिएका छैनन् एकवर्षसम्म । कार्यकालको दोस्रो वर्ष पनि आफ्नै नेतृत्वमा सरकार चलिरहने हो कि के हुने हो भन्ने कुरामा आफैँ निश्चिन्त हुन नसकिरहेका प्रचण्डले ‘नयाँ धक्का’ नामको शब्द तुरुप फालेर राजनीतिको केन्द्रमा बहस छेडेका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति हुन आफैँले नदिएर धोका दिएको सार्वजनिकरूप मै स्वीकारेका प्रचण्डले राजनीतिको पहिलो धोका आफैँलाई अफापसिद्ध भएको निष्कर्ष निकाल्ने गरेका छन् । त्यसैगरी छिमेकी देश भारतलाई चिढ्याएको र सेना प्रमुख चलाएको विषयलाई पनि उनले आफैँलाई धोका दिएको ठान्ने गरेका छन् । प्रचण्ड राजनीतिक अवसर छिन्न धोका दिन पछि पर्दैनन् भन्ने सन्देश प्रसार भएको छ ।

यही धोकाको नयाँ संस्करण त होइन धक्का भनेर चर्चा सुरु भइसकेको छ। यसको सारभूत अर्थ के हो भनेर आगामी दिनहरूमा स्पष्ट हुँदै जाने नै छ। 

  
   
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:५३
Weather Update