News Griha :: न्यूजगृह
नयाँवर्षको शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने

काठमाडौं— नेपाली नयाँवर्ष २०८० को शुभारम्भमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले ‘ठमेल सडक महोत्सव’ हुन लागेको हो ।

परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी नयाँवर्षको पूर्वसन्ध्यामा शुक्रबार ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाली नयाँवर्षलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउनका लागि महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

‘नयाँवर्षको पूर्वसन्ध्यामा ठमेलभित्रको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तुको प्रदर्शनी गर्नुका साथै तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछन्’,अध्यक्ष शर्माले भने । साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ ।

अध्यक्ष शर्माले पछिल्लो समय नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै यसले ठमेलका व्यवसायीमा नयाँ आशा जगाएको बताए । परिषद्का महासचिव राजीव पाण्डेले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रूपमा परिचित गराउने नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवले विदेशमा ठमेलको बारेमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो  । उक्त सडक महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने परिषद्ले अपेक्षा राखेको छ  ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २१:०६
Weather Update