
काठमाडौं— सङ्घीय राजधानी काठमाडौं उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहोर निस्कन्छ । यहाँ फोहोर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ ।
फोहोर व्यवस्थापनमा स्थानीय तह र फोहोर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ । उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबेँसी र ककनी गरी २३ नगरपालिकाको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहोर सङ्कलन हुने गरेको छ । दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सङ्कलित फोहोरबाट कवाडी वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा कवाडी वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ ।
त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगञ्ज, हेटौँडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चापदार्थका रुपमा प्रयोग गर्ने गरेका छन् ।
नेपाल कवाडी व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा कवाडी दैनिक ३५ गाडी सङ्कलन हुने गरेको जानकारी दिए । सङ्कलनकर्ताले स्वतः गर्ने कामका कारण लगभग तीन सय ५० टन कवाडी दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उनको भनाइ । 'यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रुपमा कवाडी आपूर्ति गर्दै आएका छौँ । यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपर्थ्यो तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,' अध्यक्ष पाठकले भने ।
सङ्घका अनुसार काठमाडौं उपत्यकामा मात्र कवाडी सङ्कलनकर्ता सात हजार छन् । उनीहरु दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुनः प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन् । यसरी कवाडी किनेर कवाडीखानामा बेच्दा मासिक २० देखि ३० हजार कमाई हुने गरेको कवाडी सङ्कलक अजय यादवले बताए ।
उनले कामका सिलसिलामा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गरे । त्यसैगरी, उपत्यकामा एक हजार सात सय कवाडी सङ्कलन स्थल (कवाडीखाना) छन् । ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ ।
विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भने, 'यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ । सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गयौँ तर कुनै सुनुवाइ भएको छैन् ।'
२०३८ देखि यो पेसामा आबद्ध भएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गरे । काठमाडौं महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ । यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातचुत गरी पुनः प्रयोग गर्न सुरु गरिएको उनले बताए ।
फोहोरलाई मुख्य गरी पुनः प्रयोग नहुने र पुनः प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पुनः प्रयोग नहुने फोहोरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन् । भान्साजन्य र अन्य फोहोर सड्ने फोहोर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुनः प्रयोग पनि नहुने र नसड्ने फोहोर हुन् । त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजजन्य र सिसाजन्य वस्तु पुनः प्रयोग हुने वस्तु हुन् । कवाडी सङ्कलकहरुले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन् ।
निजी संस्थाद्वारा ९० प्रतिशत फोहोर व्यवस्थापन
यसैगरी, फोहोर सङ्कलन गर्ने निजी संस्थाको साझा युनियन ‘फोहोरमैला व्यवस्थापन सङ्घ नेपाल’का अनुसार उपत्यकामा मात्र फोहोर सङ्कलन गर्ने ५८ निजी कम्पनी छन् । ती कम्पनीमा तीन हजारभन्दा बढी कुचिकार, सङ्कलक र व्यवस्थापक कार्यरत रहेको सङ्घका महासचिव मित्रप्रसाद घिमिरेले जानकारी दिए ।
उपत्यकाको फोहोरमध्ये ९० प्रतिशत ती कम्पनीले र बाँकी १० प्रतिशतमात्र महानगरपालिकाले सङ्कलन गर्ने गरेको उनले बताए । काठमाडौं महानगरपालिकाले १२, १८, १९, २०, २१, २३, २४ र २५ वडाको सम्पूर्ण फोहोर सङ्कलन गर्ने गर्छ भने बाँकी वडाको फोहोर निजी संस्थाबाट सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।
'कम्पनीले दैनिक घरघरबाट रिक्सा तथा ट्रयाक्टरबाट फोहोर सङ्कलन गरेर आ–आफ्नो सङ्कलन केन्द्रमा राख्छन् र त्यही मजदुरले पुनः प्रयोग हुने वस्तु छनौट गर्ने गर्छन् । बिग्रेको खाद्यान्न बङ्गुरलगायत जनावरका लागि दानाका रुपमा पनि प्रयोग हुन्छ । यसरी करिब २५ प्रतिशत वस्तु छुट्याइन्छ र बाँकी ल्यान्डफिल साइट लगिन्छ,' उनले भने । तर जुन कम्पनीको फोहोर छुट्याउने केन्द्र हुँदैन ती कम्पनीले फोहोर सिधै बन्चरेडाँडामा लैजान्छन् र त्यहीँ कुहिने तथा पुनः प्रयोग हुने वस्तु छुट्याइन्छ ।
फोहोर लैजाने कम्पनीले बन्चरेडाँडामा प्रत्येक गाडीको चार सय प्रवेश शुल्क तिर्ने गरेका छन् । एक सर्वेक्षणअनुसार उपत्यकाको कूल फोहोरबाट छुट्याइने पुनः प्रयोग हुने वस्तुको बिक्रीबाट मात्र दैनिक २० लाखदेखि ३० लाख आम्दानी हुने गरेको छ । यसरी हुने छनौटले एकातिर आम्दानी हुने र अर्कोतिर फोहोर व्यवस्थापनमा ठूलो सहयोग हुने महासचिव घिमिरेले बताए । यसले फोहोर ढुवानीको खर्च पनि बचत हुने गरेको छ । त्यस्ता कम्पनीले फोहोरमैलाको मात्राका आधारमा प्रत्येक घर र व्यवसायबाट लिने शुल्कमा विविधता रहेको उनले बताए ।
तर घरायसीका लागि न्यूनतम मासिक चार सय रहेको छ । उपत्यकामा करिब चार लाख घर रहेका अनुमान छ ।
काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार बन्चरेडाँडामा लैजाने फोहोरमध्ये ६० देखि ७० प्रतिशत कुहिने फोहोर हुन्छ भने बाँकी धातु, कागज, प्लास्टिक, सिसालगायत वस्तु हुन्छन् । दैनिक लैजाने दुई सय गाडीका फोहोरमा अनौपचारिक काम गर्ने व्यक्तिले स्वतः रुपमा पुनः प्रयोग हुने वस्तु छुट्याउने गरेका छन् । त्यसमध्ये दैनिक पाँचदेखि १० गाडी पुनः प्रयोग हुने वस्तु फिर्ता हुने गरेको उनले जानकारी दिए ।
उनले कवाडी सामग्री सङ्कलकले आफ्नो रोजगारी र आम्दानीका सिलसिलामा स्वतः रुपमा पुनः प्रयोग गर्ने वस्तु सङ्कलन गर्दा फोहोर व्यवस्थापनमा ठूलो सहयोग हुने गरेको उल्लेख गरे ।
महानगरपालिकामा सरसफाइ तथा उद्यान सहायकका रुपमा ३२ वडामा तीन सय ९७, विभागमा एक सय आठ, रत्नपार्क रानीपोखरीमा छ, बालाजु बाइसधारामा १०, वसन्तपुरमा आठ, बागदरबारमा १३, शङ्खपार्कमा पाँच, राष्ट्रिय सभागृहमा नौ, सिसडोल ल्यान्डफिल साइटमा नौ, सिसडोल ल्यान्डफिल साइटमा लेन्थ वर्कर सात, सिसडोल बन्चरेडाँडा सडकमा ‘लेन्थ वर्कर’ पाँच गरी कूल पाँच सय ७७ जना कार्यरत छन् ।