News Griha :: न्यूजगृह
घले समूहले मात्रै त्रिभुवन विमानस्थलबाट भित्र्याएको थियो १३८ किलो सुन [प्रतिवेदनसहित]

काठमाडौं— गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । 

प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

समितिले आफ्नो प्रतिवेदनमा गोरखाका मीनबहादुर घलेले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्न सेटिङ मिलाउने गरेको देखिएको जनाएको छ ।

मीनबहादुर स्वयम् तथा १४ किलो सुनसहित समातिएका चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटकपटक दुबईबाट सुन लिएर आउने गरेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ । 
घलेले एयरपोर्टको सेटिङ मिलाउन डीबी भन्ने दानबहादुर गुरुङलाई प्रयोग गरेको देखिएको समितिले निष्कर्ष निकालेको छ ।

मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले पटकपटक गरेर १३८ किलो सुन विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेको पनि समितिले जनाएको छ । तर पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलो मात्रै सुन बरामद भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

एअरपोर्टबाट सुन बाहिर निकाल्न त्यहाँ कार्यरत नागरिक उड्यन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखाका सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको प्रतिवेदनले ठहर गरेको छ । 

भरियाले ल्याएको सुन एअरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको टोखा नगरपालिका बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको पनि निष्कर्ष समितिले निकालेको छ ।

उक्त सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगिदिएर भरियाको काम गरेको पनि समितिले पत्ता लगाएको छ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:३४
Weather Update