News Griha :: न्यूजगृह
कोठी नं ६८: सञ्चालक पक्राउ   
इलुस्ट्रेसन: न्यूजअखबार डटकम ।  

काठमाडौं— आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्‍याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्‍याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई प्रहरीले विदुरबाट पक्राउ गरेको हो । 
नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 
‘दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ’, डीएसपी खड्काले भने,‘नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।’  

प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।  
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १२:१०
Weather Update